काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन संसद् हल समयमै सम्पन्न नभएपछि सभामुख देवप्रसाद अर्यालले असन्तुष्टि जनाउँदै सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्।
संसद् सचिवालयका कर्मचारीसहित स्थल निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै तोकिएको समयमै काम सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका हुन्। यसअघि जेठ १५ गते सोही हलबाट बजेट प्रस्तुत गर्ने योजना भए पनि हालसम्म निर्माण सम्पन्न नभएपछि उनले गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनले निर्धारित मितिमा काम नसकिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउने चेतावनीसमेत दिएका छन्।
सभामुखले सहरी विकास मन्त्रालय र सम्बन्धित सचिवलाई तत्काल बोलाएर काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै ढिलाइलाई राष्ट्रकै अपमानको रूपमा व्याख्या गरेका छन्। उनले निर्माण कार्यमा कुनै पनि बहाना स्वीकार्य नहुने भन्दै तत्काल निष्कर्षसहित काम सम्पन्न गर्न कडा अडान लिएका छन्।
