काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले दार्चुलामा भारतीय हेलिकोप्टर अवतरण भएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुला क्षेत्रमा अवतरण भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै त्यसमा भारतीय सुरक्षा निकायका उच्च अधिकारीहरू सवार रहेको भनिएको सूचनाबारे सरकारले स्पष्टता दिनुपर्ने बताए।
उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरे। सांसद दुलालका अनुसार यस्ता संवेदनशील विषयमा सरकार मौन बस्न नहुने र संसद्मा आएर प्रधानमन्त्रीले समेत स्पष्टिकरण दिनुपर्ने आवश्यकता रहेको छ।
