बाजुरा । मनसुन सक्रिय भएसँगै बाजुराका गाउँ–गाउँमा असारे रोपाइँको रौनक छाएको छ। जिल्लाका नौवटै स्थानीय तहमा किसानहरू खेतबारीमा व्यस्त देखिन्छन् भने हिलोमैलोबीच परम्परागत शैलीमा धान रोप्ने काम धमाधम भइरहेको छ।
बिहानैदेखि खेतमा पुग्ने किसानहरू साँझ अबेरसम्म रोपाइँमै जुटिरहेका छन्। पुरुषहरू हलो जोत्ने, गोरु डोर्याउने र खेत तयारी गर्ने काममा खटिएका छन् भने महिलाहरू धानका बेर्ना रोप्न व्यस्त छन्। खेतभरि गुञ्जिने असारे भाका, सामूहिक श्रम र आपसी सहयोगले रोपाइँलाई उत्सवमय बनाएको छ। बाजुरामा रोपाइँ केवल कृषि कार्यमा सीमित छैन, यो स्थानीय संस्कृति, परम्परा र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको अभ्यास पनि हो। खेतमा काम गर्ने क्रममा गाइने असारे गीत, रमाइला भाका र हिलो खेल्ने चलनले श्रमलाई उत्सवमा रूपान्तरण गर्ने गरेको छ।
बडीमालिका नगरपालिका–७ की कृषक जुना पाध्यायका अनुसार असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय हो। धान रोप्ने, कोदो सार्ने र खेतबारी व्यवस्थापनका कामले दिनभर फुर्सद नहुने उनी बताउँछिन्। असारभरि खेतकै काममा व्यस्त हुनुपर्छ। यही मेहनतले वर्षभरिको खाद्यान्न सुनिश्चित हुन्छ, उनले भनिन्।
स्थानीय कृषक मोती पाध्यायका अनुसार रोपाइँ गाउँघरमा श्रमको मात्र होइन, सामाजिक एकता र सांस्कृतिक पहिचानको उत्सव पनि हो। “खेतमा सबै मिलेर काम गर्ने, भाका गाउने र रमाइलो गर्ने परम्पराले गाउँको सम्बन्धलाई अझ बलियो बनाउँछ, उनले भने। गाउँघरमा अहिले घरभन्दा खेतबारीमै बढी चहलपहल देखिन्छ। रोपाइँका क्रममा खेतभरि गुञ्जिने गीत, गोरु जोतेको आवाज र किसानहरूको सामूहिक सहभागिताले ग्रामीण परिवेशलाई थप जीवन्त बनाएको छ।
रोपाइँ,कृषि मात्र होइन, संस्कृति पनि
पहाडी जिल्लाहरूमा रोपाइँलाई परम्परा, श्रम र सामूहिकताको प्रतीकका रूपमा लिने गरिन्छ। बिउबेडमा तयार गरिएको धानको बेर्नालाई हिलोयुक्त खेतमा सार्ने प्रक्रियालाई रोपाइँ भनिन्छ, जुन धान उत्पादनको सबैभन्दा महत्वपूर्ण चरण मानिन्छ। मनसुन सुरु भएसँगै देशभर रोपाइँको चटारो बढ्ने गर्छ। ग्रामीण क्षेत्रमा अझै पनि ‘पर्म’ (एकअर्काको खेतमा पालैपालो श्रम आदानप्रदान गर्ने प्रथा)को अभ्यास कायम छ, जसले खेतीपातीका कामलाई सहज बनाउने गरेको छ। असारे रोपाइँले कृषि उत्पादन बढाउन मद्दत गर्नुका साथै सामाजिक सद्भाव, सहकार्य र सांस्कृतिक मूल्यलाई पनि जोगाइराखेको छ। खेतमा गाइने असारे भाका, हिलो खेल्ने चलन र सामूहिक श्रमले नेपाली ग्रामीण जीवनको मौलिक पहिचानलाई आज पनि जीवन्त राखेको छ।
