अमेरिकामाथि बेल्जियमको शानदार जित, क्वार्टरफाइनलमा स्पेनसँग भेट

अमेरिका । सहआयोजक अमेरिका बेल्जियमसँग ४–१ ले पराजित भएपछि फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाट बाहिरिएको छ।

सियाटल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै बेल्जियमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरेका थिए। खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। तर ३१औं मिनेटमा टिलम्यानले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै अमेरिकालाई खेलमा फर्काए। बराबरी धेरैबेर टिक्न सकेन। त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफको ५७औं मिनेटमा भानकेनले गोल थपेपछि बेल्जियमले खेलमा स्पष्ट पकड बनायो।इन्जुरी समयको अन्त्यतिर रोमेलु लुकाकुले अर्को गोल थप्दै बेल्जियमको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे। यससँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो।अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। उता, घरेलु समर्थकमाझ खेलिरहेको अमेरिका भने २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो।

Back To Top
Modern Footer Design