काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद राईका अनुसार ती कर्मचारीहरूले लामो समयदेखि राज्यको सेवा गर्दै आएको र अहिले सेवाबाट हटाइने सम्भावनाले भविष्य अन्योलमा परेको गुनासो गरेका छन्। उनीहरूले रोजगारी गुमेमा परिवारको जीविकोपार्जनसमेत संकटमा पर्ने अवस्था आउने बताएका थिए।
सभामुखमार्फत सरकारलाई सम्बोधन गर्दै सांसद राईले करार तथा अस्थायी कर्मचारीलाई हटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरे। लामो समयदेखि यही सेवामा आबद्ध रहेका कर्मचारीलाई एकाएक हटाउँदा सामाजिक तथा आर्थिक समस्या थप गम्भीर बन्न सक्ने उनको भनाइ थियो। उनले मुलुकमा रोजगारीको अभावका कारण धेरै युवा विदेशिन बाध्य भइरहेका बेला स्वदेशमै काम गरिरहेका कर्मचारीलाई विस्थापित गर्नु उपयुक्त नहुने धारणा राखे।
सांसद राईले विगतमा पर्याप्त तयारीबिना सुकुम्बासी हटाउने प्रयासले जटिल अवस्था सिर्जना गरेको उदाहरण दिँदै अस्थायी कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गरिए थप समस्या निम्तिन सक्ने चेतावनी दिए। त्यसैले कुनै पनि निर्णय अघि पर्याप्त अध्ययन, योजना र वैकल्पिक व्यवस्था सुनिश्चित गर्न उनले सरकारलाई आग्रह गरे।
