काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समयको दुरुपयोग भइरहेको भन्दै त्यसलाई रोक्न सभामुखसँग स्पष्ट रुलिङ गर्न आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको नियमावलीअनुसार शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै उद्देश्य रहेकाले सांसदहरूले सोही मर्मअनुसार आफ्ना धारणा राख्नुपर्ने बताए। प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम (९) ले बोल्न पाउने अधिकारलाई सदनको काममा अवरोध पुर्याउने उद्देश्यले प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै उनले त्यसको पूर्ण पालना हुनुपर्नेमा जोड दिए।
सांसद खनालका अनुसार पछिल्ला दिनहरूमा केही सांसदहरूले एउटा विषयमा बोल्न अनुमति लिए पनि त्यसपछि बजेट, निर्वाचन क्षेत्र तथा अन्य असम्बन्धित विषय उठाउने क्रम बढेको छ। यस्तो अभ्यासले संसदको कार्यसूची र नियमावलीको मर्म कमजोर बनाएको उनको भनाइ थियो। उनले आकस्मिक समयमा जुन विषयका लागि अनुमति लिइएको हो, त्यही विषयमा मात्रै केन्द्रित भएर बोल्ने व्यवस्था सुनिश्चित गर्न सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग गरे। साथै शून्य, विशेष र आकस्मिक समयको महत्वलाई सबै सांसदहरूले सम्मान गर्नुपर्ने उनको आग्रह थियो।
