गगन थापासँग निर्णायक छलफल गर्ने तयारीमा देउवा, कांग्रेस एकताबद्ध बनाउने पहल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र एकताको विषयमा सभापति गगन थापासँग छलफल गर्ने तयारी गरेका छन्।

आइतबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा आफूले विभिन्न नेतासँग परामर्श गरिरहेको बताएका हुन्। मल्लका अनुसार देउवाले अब छिट्टै सभापति गगन थापासँग छलफल गरी पार्टीभित्रको एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन्। देउवाको भनाइ उद्धृत गर्दै मल्लले आफूले सबै पक्षसँग छलफल गरिरहेको र त्यसपछि गगन थापालाई बोलाएर निर्णायक वार्ता गर्ने तयारी रहेको जानकारी दिए।

भेटका क्रममा मल्लले कांग्रेसलाई विभाजित नभई सग्लो र एकताबद्ध बनाएर अघि बढाउन देउवालाई सुझाव दिएका थिए। देउवा निवास चुनदेवीमा भएको भेटमा देउवाले नेपाली कांग्रेस र कांग्रेस बीपीबीच भएको एकता घोषणापछि सबै पक्षलाई पार्टीमा समेट्ने प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे समेत चासो राखेका थिए। नेपाली कांग्रेस र कांग्रेस बीपीबीच गत फागुन १७ गते औपचारिक रूपमा एकता गर्ने घोषणा भएको थियो। यद्यपि, पार्टी समायोजनका क्रममा केही प्राविधिक तथा सांगठनिक विषय अझै टुंगिन बाँकी रहेको बताइएको छ।

पार्टी समायोजनका लागि नेपाली कांग्रेसले नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा समिति गठन गरेको छ। उक्त समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको मल्लले देउवालाई जानकारी गराएका थिए। मल्लका अनुसार कांग्रेस बीपीतर्फका नेताहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यताका लागि आवश्यक फारामसमेत भरिसकेका छन्। अब औपचारिक रूपमा समायोजन प्रक्रिया अघि बढ्ने प्रतीक्षामा आफूहरू रहेको उनले बताए। यस भेटसँगै कांग्रेसभित्र विभिन्न पक्षलाई समेटेर पार्टी एकता सुदृढ बनाउने प्रयासले थप गति लिने संकेत देखिएको छ।

Back To Top
Modern Footer Design