काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसले १५औँ महाधिवेशन आयोजना गरेको हो। उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी भएका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी पनि उद्घाटन समारोहमा पुगेका छन्। कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते सञ्चालन हुने जनाइएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनको निर्वाचन कार्यक्रम असोज २१ र २२ गतेका लागि तय गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भने शुक्रबार र शनिबार नै सम्पन्न गरिएको समितिले जनाएको छ।
