बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट बरामद गरेको २१ किलो ७५० ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई हस्तान्तरण गरेको छ। सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सुन भन्सार कार्यालयलाई बुझाइएको हो। बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले गत असोज २२ गते उक्त सुन बरामद गरेको थियो। सोही क्रममा सुनसँगै तीन जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए।

पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन्। बरामद सुन कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सुन ओसारपसारमा संलग्न अन्य व्यक्ति वा समूहको पहिचान गर्न पनि अनुसन्धान अघि बढाइएको एसएसपी खड्काले बताएका छन्। सुन तस्करीसँग सम्बन्धित सञ्जालबारे समेत प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design