भूकम्पपछि भेनेजुएलामा मानवीय संकट चुलियो, अमेरिकी प्रतिबन्धले राहत वितरणमा चुनौती

काठमाडौँ । शक्तिशाली भूकम्पबाट ठूलो क्षति बेहोरेको भेनेजुएलामा मानवीय संकट झन् गहिरिँदै गएको छ । अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री र आर्थिक सहायता प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन कठिनाइ भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गत साता आएको विनाशकारी भूकम्पपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाए पनि दीर्घकालदेखि लागू प्रतिबन्धको संरचनाले राहत तथा पुनर्स्थापना अभियानमा अझै अवरोध सिर्जना गरिरहेको विज्ञहरूको भनाइ छ । विशेषज्ञहरूका अनुसार प्रतिबन्धका कारण आवश्यक कोष, उपकरण र मानवीय सहायता सामग्रीको पहुँचमा समस्या उत्पन्न भएको छ । यसको प्रत्यक्ष असर उद्धार, राहत वितरण तथा पुनर्निर्माणका कार्यमा परेको उनीहरूको विश्लेषण छ ।

भूकम्प प्रभावित नागरिक अल्बर्टो पेरेजले अझै धेरै सहयोग आवश्यक रहेको बताउँदै स्थानीय बासिन्दाले पनि आफ्नो क्षमताअनुसार एकअर्कालाई सहयोग गरिरहेको उल्लेख गरे । उनका अनुसार संकटको सामना गर्न अन्तर्राष्ट्रिय समुदायको थप साथ अपरिहार्य छ । राजनीतिक विश्लेषक डिएगो सेकेराले अमेरिकी प्रशासनका कानुनी र प्रशासनिक व्यवस्थाले राहत सामग्रीको प्रवाहमा प्रत्यक्ष प्रभाव पारेको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको प्रारम्भिक अनुमानअनुसार यस विपदबाट करिब ७० लाख मानिस प्रभावित भएका छन् भने करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । यो रकम भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ६ प्रतिशत बराबर रहेको बताइएको छ ।गत जुन २४ मा उत्तर भेनेजुएलामा ७.० भन्दा माथि म्याग्निच्युडका लगातार दुई शक्तिशाली भूकम्प गएका थिए । त्यसयता मृत्यु हुनेको संख्या १,९४३ पुगेको छ भने १० हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले उक्त जानकारी दिएका हुन् । भेनेजुएला सरकारले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरेर प्रभावित क्षेत्रमा राहत, उद्धार र आवश्यक सहयोग पुर्‍याउने कामलाई तीव्र बनाइरहेको जनाएको छ।

Back To Top
Modern Footer Design