दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग बढ्दो, किसानलाई समय र श्रम बचत

काठमाडौँ । दक्षिण चीनको बेइसे सहरमा आँप भित्र्याउने मुख्य सिजन सुरु भएसँगै किसानहरूले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छन्। यस वर्ष परम्परागत रूपमा हातैले आँप टिप्ने अभ्यासलाई विस्थापित गर्दै ड्रोनमार्फत फल संकलन गर्न थालिएको हो।

स्थानीय किसानका अनुसार ड्रोनको प्रयोगले काम छिटो र सहज बनेको छ। ड्रोन अपरेटर याङ जियाङले पहिले १० हजार किलोग्राम आँप संकलन गर्न करिब १० घण्टा लाग्ने गरे पनि अहिले ड्रोनको सहायताले सोही काम ५ देखि ६ घण्टामै सम्पन्न हुने बताए। बेइसेमा आँप टिप्न मात्र होइन, समग्र कृषि व्यवस्थापनमा पनि स्मार्ट प्रविधिको प्रयोग विस्तार हुँदै गएको छ। मौसमको अवस्था, माटोको चिस्यान, कीरा–रोगको निगरानी तथा पूर्वसूचना प्रणालीजस्ता डिजिटल प्रविधिले किसानलाई खेती व्यवस्थापनमा सहयोग पुर्‍याइरहेका छन्।

यसका साथै, आँपको वृद्धि अवस्थाको नियमित अनुगमन गर्न ‘फल व्यास मापन प्रणाली’ समेत प्रयोगमा ल्याइएको छ। यस प्रविधिले उत्पादन व्यवस्थापनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाएको कृषि विज्ञहरूको भनाइ छ। कृषि तथा ग्रामीण मामिला ब्युरोका प्रमुख कृषि विज्ञ लिउ देहुआनका अनुसार अहिले आँप करिब १०० दिनदेखि बढिरहेको भए पनि अझै पूर्ण रूपमा परिपक्व भइसकेको छैन। आवश्यक मात्रामा सिँचाइ बढाउन सके उत्पादन करिब १० प्रतिशतसम्म वृद्धि गर्न सकिने उनले बताए। बेइसे चीनको सबैभन्दा ठूलो आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ। यहाँ करिब ८८ हजार हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ र हाल उत्पादनको मुख्य सिजन चलिरहेको छ।

Back To Top
Modern Footer Design